भारतका कतिपय लेखकहरूको भारतका सत्ताधारी वर्गकोझैँ नेपालप्रतिको सोच हेपाहा छ, खोटो छ। सिंह पनि त्यही कोटीका खोटो सोचयुक्त पत्रकार रहेछन्।
...‘माउन्ट एभरेस्ट’ भारतको हिमालय पर्वतको उच्च श्रङ्खला हो र माउन्ट एभरेस्ट भारतमा छ भन्ने बुझाउन खोजिएको छ। ...पीपलको रुखलाई अशोक वृक्ष भनेका छन् तर, मुख्य कुरोचाहिँ ‘बुद्धको जन्म नेपालमा भएको हो’ भन्न छुद«याइँ देखाएका छन्।...अङ्ग्रेजले आँखा गाडेको रमणीय नेपाली भू–भाग हात पारिसकेपछि सम्झौता गरेको हो, नेपालले युद्धमा आत्मसमर्पण गरेको होइन।
खुशवन्त सिंह (१९१५–२०१४) अन्तर्राष्ट्रिय पहिचान समेत बनाएका अङ्ग्रेजी भाषामा लेख्ने चर्चित भारतीय पत्रकार, राजनीतिक विश्लेषक, इतिहासकार, लेखक एवं साहित्यकार हुन। उनी आफ्ना कतिपय विवादास्पद विचारका लागि आलोचित र प्रशंसित छन्।
उनीसँग भारत सरकारको विदेश मन्त्रालयमा केही समय काम गरेको अनुभव छ भने आफ्नो सय वर्षे जीवनको अधिकांश समय पत्रकारितामै संलग्न रहे। १९८०–८६ को अवधिमा उनी राज्य सभाको मनोनित सदस्य पनि रहे।
उनी आकाशवाणी रेडियो, सरकारी पत्रिका ‘योजना’ लगायत अङ्ग्रेजी पत्रिकाहरू ‘न्यु देल्ही’, ‘हिन्दुस्तान टाइम्स’ र ‘इल्युस्ट्रेटेड विक्ली अफ इन्डिया’ का सम्पादक रहे। पद्म भूूूषण (१९७४) र पद्म विभूषण (२००७) लगायत विभिन्न राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित उनका ‘दिल्ली’ र ‘ट्रेन टु पाकिस्तान’ चर्चित उपन्यासहरू हुन्। ‘एग्नोस्टिक खुशवन्त ः देयर इज नो गड’ उनको दर्शन सम्बन्धी आत्मपरक लेखनीयुक्त वैचारिक पुस्तक हुनुपर्छ।
उनको एउटा पुस्तक ‘मेरा भारत’ सन् २००९ मा राजपाल प्रकाशनबाट प्रकाशित भएको छ। मूल अङ्ग्रेजीमा लेखिएको उक्त पुस्तकको अनुवाद चर्चित भारतीय साहित्यकार डा. भगवतीशरण मिश्रले गरेका हुन्। उक्त पुस्तकको मूल अङ्ग्रेजी शीर्षक के थियो भन्नेबारे अनुदित पुस्तकमा उल्लेख गरिएको छैन तर, लेखककै भूमिकामा उल्लेख गरिएको ‘दी भ्यू अफ इन्डिया’ वा उनको पुस्तक ‘इन्डिया ऐन इन्ट्रोडक्सन’मध्ये कुनैको अनुवाद हुन सक्छ यो पुस्तक।
यो पुस्तक इतिहास, सँस्कृति, जनजीवन, राजनीति आदि विभिन्न दृष्टिकोणबाट भारतलाई चिनाउन सामान्य पाठकका लागि तयार पारिएको पठनीय पुस्तक हो। भारतको उत्तरी छिमेकी नेपाल पनि भएकोले चार–पाँच ठाउँमा नेपालसँग सम्बद्ध सन्दर्भ पनि उक्त पुस्तकमा परेको छ र तीमध्ये केही सन्दर्भ आपत्तिजनक रहेका छन्।
तिनै सन्दर्भहरूप्रति हामी नेपालीको ध्यान आकृष्ट गर्नु यो लेखको उद्देश्य हो ।
उक्त पुस्तकको आरम्भतिर नै भारतको प्राकृतिक विभाजनको चर्चा गर्दै यस्तो लेखिएको छः
‘...उत्तर पश्चिम की पर्वत श्रृंखलाएँ उधर की सीमाओं का निर्माण करती हुई पाकिस्तान के निर्माण के पूर्व इस उपमहाद्वीपको एक भौगोलिक एकता प्रदान करती थी। इन पर्वतों का महत्व उनकी अभेद्यता में था।
ये पर्वत संसार में सर्वोच्च है – माउंट एवरेस्ट की उचाइ २९०२८ फीट है।’ (पृष्ठ १०)
(नेपाली अनुवादः उत्तरपश्चिमतिरको पर्वत श्रृङ्खलाहरूले त्यतातिरको साँधको निर्माण गर्दै पाकिस्तान बन्नु अघि यस उपमहाद्वीपलाई एउटा भौगोलिक एकता प्रदान गर्दथ्यो। यी पर्वतहरूको महत्व तिनको अभेद्यतामा थियो।
यी पर्वत संसारमा सर्वोच्च छन् – माउन्ट एवरेस्टको उचाइ २९०२८ फीट छ ।...)
यहाँ सगरमाथालाई भारतको प्राकृतिक विभाजनको चर्चाको पेटभित्र पारेर उल्लेख गर्नुले ‘माउन्ट एभरेस्ट’ भारतको हिमालय पर्वतको उच्च श्रङ्खला हो र माउन्ट एभरेस्ट भारतमा छ भन्ने भाव सम्प्रेषण गर्न खोजिएको स्पष्ट हुन्छ।
पृष्ठ ९ र १० मा भारतको सीमाको उल्लेख गर्दै उनले लेखेका छन्, ‘इसकी सीमाएँ पाकिस्तान, रूस, चीन, बंगलादेश, नेपाल और बर्मा से लगती है।’
यहाँ, स्मरण रहोस् उनले भुटानलाई कहिँकतै उल्लेख गरेका छैनन्। पुस्तकमा ७ ठाउँमा नेपाल, भुटानसमेत स्पष्ट चित्राङ्कित भएको भारतको नक्सा राखिएको छ र पनि सगरमाथाको उल्लेख भारतको हुनेगरी गरिनु र छिमेकी देशका रुपमा भुटानको उल्लेख नगरिनु सोचनीय कुरा हो। यो साना देशप्रति आफूलाई ठूला ठान्नेको हेपाहा–मिचाहा व्यवहार हो।
सन्दर्भ –२ः
धार्मिक सन्दर्भको चर्चा गर्दा बौद्ध धर्मको उल्लेख गर्दै उनी लेख्छन्ः
‘बौद्ध महान धर्मों में एक है जिसे भारत ने विश्व को दिया...
शाक्य वंशीय क्षत्रीय शुद्धोदन नामक एक राजा था। जिसका राज्य आज की भारत नेपाल सीमा पर कहीं था।
...५६३ ई.पू. जब माया लुम्बनी के उपवन में एक अशोक वृक्ष की शाखा पकडकर खडी थी, उसने एक बालकको जन्म दिया ...। (पृ.५६)
(नेपाली अनुवादः बौद्ध महान धर्महरूमध्येको एउटा धर्म हो जुन भारतले विश्वलाई दियो। शाक्य वंशको क्षत्री शुद्धोदन नाम गरेका एक राजा थिए, जसको राज्य आजको भारत नेपालको सीमामा कतैतिर थियो। ई.पू.५६३ मा लुम्बिनीको बगैँचामा अशोकको रुखको हाँगो समातेर उभिएका बेलामा मायाले एक बालकलाई जन्म दिइन्...।)
यहाँ पनि उनले नियतवश बडो बठ्याइँ छाँ्टदै अहिलेको नेपालको लुम्बिनीमा भन्नुको साटो भारत नेपालको सीमामा कतै भन्ने पदावली प्रयोग गरेका छन्। पीपलको रुखलाई अशोक वृक्ष भनेका छन् तर, मुख्य कुरोचाहिँ बुद्धको जन्म नेपालमा भएको हो भन्न कृपणता देखाएका छन्। यसका पछाडि उनको भारतवादी नियतले काम गरेको स्पष्ट हुन्छ। बुद्ध धर्म भारतले विश्वलाई दिएको होइन। धर्मको प्रवर्तक देश होइन, व्यक्ति हुन्छन्। बुद्ध नेपालका हुन् भन्ने तथ्य जगजाहेर छ। उनको जन्मभूमि नेपालको लुम्बिनी (कपिलवस्तु) हो र आफ्नो धर्मको प्रचार–प्रसार उनले भारत र नेपालका विभिन्न स्थानमा गएर गरे।
सन्दर्भ–३
नेपाल बेलायत युद्धका सन्दर्भको चर्चा गर्दै सिंहले लेखेका छन्।
‘नेपाली १८१४–१६ में पराजित हुए पर उन्हें अपने पर्वतीय राज्य पर शासन करने दिया गया...।’ (पृ.१४४)
(नेपाली अनुवादः नेपाली १८१४–१६ को युद्धमा (बेलायतसँग) पराजित भए तर पनि तिनलाई आफ्नो पर्वतीय राज्यमा शासन गर्न (बेलायतद्वारा) दिइयो।)
यहाँ पनि उनले तथ्यलाई नियतवश लुकाएका छन्। पश्चिमका कुमाउँ, गढवाल, नैनीताल आदि र पूर्वका दार्जिलिङ, खर्साङ, सिलिगुडी र तराईका कतिपय भूभाग भारतमा गाभिएको कुरा लुकाएका छन्। नेपालको जय–पराजयको कुरो एउटा पक्ष हो तर, अङ्ग्रेजले आँखा गाडेको रमणीय नेपाली भू–भाग हात पारिसकेपछि सम्झौता गरेको हो, नेपालले युद्धमा आत्मसमर्पण गरेको होइन।
यी कुराहरूले के पुष्टि गर्दछ भने भारतका कतिपय लेखकहरूको पनि भारतका सत्ताधारी वर्गकोझैँ नेपालप्रतिको सोच हेपाहा छ, खोटो छ। उनीहरू जानाजान सत्यतथ्यलाई भाँचकँुच पारेर प्रस्तुत गर्ने गर्दछन्। र, खुशवन्त सिंह पनि त्यही कोटीका खोटो सोचयुक्त पत्रकार रहेछन् भन्ने तथ्य उनको ‘मेरा भारत’ नामक पुस्तकले प्रस्तुत गरेको छ।
यस्तो भ्रामक जानकारी सम्प्रेषण गर्न लेखक, अनुवादक र प्रकाशक तीनै थरी लागिपरेका छन्। उक्त पुस्तक सन् २००९ मा प्रकाशित भएको र त्यसपछि पनि त्यसका कतिपय संस्करण आइसकेका होलान्। पुस्तकका मूल लेखकको देहावसान २० मार्च २०१४ मै भइसकेको हुनाले गलत र भ्रामक तथ्यहरूको सम्प्रेषण गरिएबापतको भूलका लागि क्षमा माग्ने र भ्रामक जानकारीलाई सच्याउने कार्य प्रकाशकका हैसियतले ‘राजकमल प्रकाशन’को हुन आउँछ। त्यसैले राजकमल प्रकाशनले यसतर्फ शिघ्रातिशिघ्र ध्यान देओस्। यस पुस्तकको अङ्ग्रेजी संस्करणमा पनि त्यसका प्रकाशकले यी भ्रामक तथ्य सच्याउनु आवश्यक छ।
Source:- Setopati
0 comments:
Post a Comment