Tuesday, September 20, 2016


आश्विन ४, २०७३- माओवादीका पूर्व लडाकु समूहले मंगलबार उपत्यकाका ११ निजी विद्यालयमा बम राखेर आतंक मच्चाएका छन् । उनीहरूले चन्दा असुलीका लागि धम्क्याउन आततायी घटना गराएका हुन् ।
     
माओवादी शान्ति प्रक्रियामा आएपछि असहमति जनाउँदै माओवादी कम्युनिष्ट केन्द्रका नाममा सक्रिय समूहले काठमाडौंका १० र ललितपुरको एक विद्यालय अगाडि बम राखेका हुन् । राखिएका बममध्ये २ वटा बिष्फोट भएका थिए । 

बिष्फोटमा मानवीय र भौतिक क्षति भने भएन । नौ वटा बम सुरक्षा निकायले निस्कृय बनाएको थियो । 

राजधानीका दुई विद्यालयमा बम विष्फोट, पाँचवटा स्कुलमा बम फेला

बम बिष्फोटमा संलग्न रहेको अभियोगमा शंकर लाखे र चन्द्रबहादुर तामाङ पक्राउ परेका छन् । दुवै माओवादीका पूर्व लडाकु हुन् । लाखे बहिर्गमित लडाकु हुन् । 
अनमिनको अनुगमनमा अयोग्य ठहरिएपछि उनी वैदेशिक रोजगारीका लागि मलेसिया गएर फर्किएपछि केन्द्रमा आवद्ध भएका थिए । २०६२ मा हतियारसहित भागेका तामाङ केन्द्रमा सक्रिय छन् ।
आतंककारी गतिविधीमा संलग्न केन्द्र माओवादीका बटालियन सहायक कमान्डर देवेन्द्रसिंह महतले खोलेका हुन् । उनले बहिर्गमनमा परेका र पूर्व लडाकु समेटेर संगठन खोली आपराधिक गतिविधी गर्दै आएका छन् ।
उपत्यकामा मंगलबार बिहान भएका सबै घटनाको मुख्य योजनाकार महत रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाले जानकारी दिए । उनका अनुसार केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक मीन देवकोटा, योङ कम्युनिष्ट फोर्सका संयोजक सुमन श्रेष्ठ लगायतका व्यक्तिसमेत घटनामा संलग्न देखिएका छन् । बिष्फोटक पदार्थ तथा संगठित अपराध अभियोगमा उनीहरुको खोजी भइरहेको थापाले जानकारी दिए । 
महत २ वर्ष अगाडि आपराधिक गतिविधीमा पक्राउ परेका थिए । यसअघि विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परे पनि अदालतबाट उनी सामान्य धरौटीमा छुटेका थिए । ‘राजनीतिक माग देखिए पनि उनीहरु आपराधिक गिरोहका हुन्, उनीहरुमाथि राज्यले सोहीअनुसारको ब्यबहार हुन्छ,’ एआइजी थापाले भने, ‘उनीहरुमाथी बिष्फोटक पदार्थसंगै संगठित अपराधको अभियोगमा अनुसन्धान अगाडि बढाइसकेका छौं ।’
तारेखमा छुटेर बम पड्काउने योजना
विद्यालयमा बम पड्काएको अभियोगमा मंगलबार पक्राउ परेका लाखे एक महिनाअघि विद्यालयको बस जलाएको अभियोगमा पक्राउ परेका थिए । उनीसहितको समूहले साउन ६ मा डल्लुमा आइडियल मोडल स्कुलको विद्यार्थी बोक्ने बा २ ख ४६९ नम्बरको बस जलाएका थिए । 
प्रहरीको विशेष ब्यूरोसहितको टोलीले सोही अभियोगमा लाखे, विष्णु पौडेल लगायत ८ जना पक्राउ गरेको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भुले अनुसन्धान सकेर अदालतमा आगजनीमा पाँच वर्ष कैद माग गरे पनि साउन ३२ मा काठमाडौं जिल्ला अदालतले उनीहरुलाई साधारण तारेखमा मुक्त गरेको थियो ।्

स्कूलमा बम विस्फोट गरेका अभियाेगमा पक्राउ परेकाले अभियोग स्वीकारे: प्रहरी

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार उक्त समूह हिरासत मुक्त भएलगत्तै विद्यालयका सञ्चालकलाई फोन गरेर चन्दा माग्न सुरु गरेका थिए । जनयुद्ध नसकिएको भन्दै उनीहरुले विद्यालयका सञ्चालकहरुलाई ‘मागे अनुसारको चन्दा नदिए जे सुकै हुनसक्ने’ भन्दै धम्क्याएका थिए । 
‘उनीहरुले पहिल्यैदेखि विद्यालयका सञ्चालकहरुलाई फोन गरेर धम्क्याइरहेका थिए,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विक्रमसिंह थापाले भने, ‘सञ्चालकहरुले प्रहरीलाई जानकारी नदिंदा उनीहरु हौसिएर बम बिष्फोटको योजनासम्म पुग्न सफल भए ।’ 
अनुसन्धान अधिकारीका अनुसार मंगलबारका सबै बम लाखेले बनाएका हुन् । उनले प्रहरी बयानमा सशस्त्र द्धन्द्धताका आफूले बम बनाउन सिकेको र भारतबाट बिस्फोटक पदार्थ ल्याएर बम बनाएको उनले खुलाएका छन् ।
केन्द्रका अध्यक्ष महत समेत लुटपाटको अभियोगमा पक्राउ परिसकेका व्यक्ति हुन् । असार १ मा कलंकीमा मनबहादुर चतराको यार्चा लुटेको अभियोगमा उनी सहित केन्द्रका महासचिव केशव दाहाल सहित ४ जना पक्राउ परेका थिए । प्रहरीले जर्वजस्ती चोरीमा अनुसन्धान गरी मुद्धा बुझाएकोमा उनीहरू धरौटीमा मुक्त भएका थिए ।
आपराधिक समूहसँग सरकारको वार्ता

माओवादी कम्युनिष्ट केन्द्र सरकारले २ पटक वार्ता गरिसकेको संगठन हो । राजनीतिक आवरणमा आपराधिक गतिविधीमा संलग्न रहेको महत समुहसंग सरकारले २०६९ र २०७१ मा वार्ता गरेको थियो । २०६९ भएको वार्ता सकारात्मक भएन । 
सशस्त्र गतिविधी गर्दै आएका समूहसँग वार्ता गरी शान्ति प्रक्रियामा ल्याउन संसदको संबैधानिक राजनीतिक संवाद समितिको प्रारम्भिक वार्ता उपसमितिसँग २ वर्षअघि वार्ता गरी महतले शान्तिपूर्ण रुपमा राजनीतिक गतिविधी गर्ने भन्दै सरकारलाई एसएमजी, माउजर, पेस्तोल सहित ५६ थान हतियार बुझाएका थिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २०७१ कात्तिक ३० माउनले हतियार बुझाएका हुन् ।
आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले उनीहरुका ५६ जना कार्यकर्तालाई कारागारमुक्त गर्न सिफारिस गरेको थियो । शान्तिपूर्ण गतिविधी गर्ने भन्दै हतियार बुझाएका उनीहरुले पछिल्लो समय काठमाडौं उपत्यकाका विद्यालयमा आतंक मच्चाउन थालेका थिए । ‘हतियार बुझाएपछि पनि उनीहरुले विभिन्न बहानामा नीजि कलेज र विद्यालय सञ्चालकसँग पैसा असुलीरहे,’ एआइजी थापाले भने । 


Source :- kantipur.com


0 comments:

Facebook Blogger Plugin by Best Solution Enhanced by Get this widgetDevelop by Amit Gubhaju

Post a Comment

Followers

Video

Online earning in Nepal

Popular Posts